
विज्ञानको दुरुपयोग : जब इन्द्रियको विस्तार सृष्टिको विरोधी बन्छ

गणेश कटवाल
विज्ञानले मानिसलाई असाधारण शक्ति दिएको छ। हामीले आँखाले देख्न नसक्ने कुरा देख्न थालेका छौँ। कानले सुन्न नसक्ने कुरा सुन्न थालेका छौँ। टाढाको संसारलाई नजिक ल्याएका छौँ। आफ्नो शारीरिक तथा बौद्धिक क्षमताभन्दा धेरै परसम्म पुग्न सक्ने भएका छौँ। तर प्रश्न यो होइन कि विज्ञानले हामीलाई कति शक्ति दियो।
प्रश्न यो हो। त्यो शक्ति हामीले केका लागि प्रयोग गर्दैछौँ?
क्षमता बढ्दै जाँदा चेतना पनि बढेन भने के हुन्छ? इन्द्रियको पहुँच विस्तार हुँदै गयो, तर विवेक त्यही ठाउँमा रह्यो भने त्यसको परिणाम कस्तो होला? यही प्रश्नबाट विज्ञानको सदुपयोग र दुरुपयोगलाई हेर्न आवश्यक हुन्छ।
विज्ञान : इन्द्रिय र मानवीय क्षमताको विस्तार
पूर्वीय दर्शन र परम्परामा मानव शरीर र अनुभवलाई बुझाउने क्रममा ११ इन्द्रियको चर्चा पाइन्छ—५ ज्ञानेन्द्रिय, ५ कर्मेन्द्रिय र १ मन।
ज्ञानेन्द्रियले संसारलाई ग्रहण गर्छन्। कर्मेन्द्रियले त्यससँग व्यवहार गर्छन्। मनले संकल्प–विकल्प गर्छ। यस दृष्टिले हेर्दा विज्ञानलाई मानवका प्राकृतिक इन्द्रिय र क्षमताको एउटा असाधारण विस्तारका रूपमा बुझ्न सकिन्छ।
आँखाले देख्न नसक्ने कुरा टेलिस्कोपले देखाउँछ। सूक्ष्म कुरा माइक्रोस्कोपले देखाउँछ। टाढाको आवाज र दृश्य प्रविधिले हामीसम्म ल्याउँछ। कम्प्युटरले गणना र स्मरणको क्षमता बढाउँछ। इन्टरनेटले मानिसको पहुँच संसारभर फैलाउँछ। रोबोटले मानिसको शारीरिक क्षमताभन्दा परसम्म काम गर्न सक्छ।
यस अर्थमा विज्ञानले मानिसलाई आफ्नो प्राकृतिक सीमाभन्दा धेरै परसम्म पुग्ने क्षमता दिएको छ। तर क्षमता बढ्नु मात्र पर्याप्त छैन।क्षमतासँगै विवेक पनि बढ्नुपर्छ। विवेक भनेको — कुनै पनि प्रविधि वा ज्ञानलाई प्रयोग गर्नुअघि तीन प्रश्न सोध्ने बानी हो:
१. यसले कसलाई फाइदा गर्छ?
२. यसले कसलाई हानि गर्न सक्छ?
३. यसको दीर्घकालीन असर के होला?
जस्ता प्रश्नहरूमा जोड दिनुपर्छ।
विज्ञान आफैँमा न राम्रो हो, न नराम्रो। यसको प्रयोगको दिशा मानिसको उद्देश्य, चेतना र जिम्मेवारीले निर्धारण गर्छ। आगोले खाना पकाउँछ, घर न्यानो बनाउँछ; त्यही आगोले घर पनि जलाउन सक्छ।दोष आगोको होइन, त्यसको प्रयोगको हो। विज्ञानको अवस्था पनि त्यस्तै हो।
परम्परा र आधुनिक विज्ञान : सत्यको स्वामित्व कसैसँग छैन
मानवको ज्ञान प्राप्तिको इतिहास आधुनिक प्रयोगशालाबाट सुरु भएको होइन।
मानिसले दशौँ हजार वर्षदेखि प्रकृतिलाई हेर्दै आएको छ। शरीरलाई अध्ययन, अनुसन्धान प्रयोग गर्दै र बुझ्दै आएको छ। भोजन, औषधि, ऋतु, वातावरण, निद्रा, श्रम, विश्राम र जीवनशैलीसँग सम्बन्धित अनेक अभ्यास गर्दै आएको छ।
उसले अनुभव गर्यो। अवलोकन गर्यो। अभ्यास गर्यो। परिणाम देख्यो। आवश्यक परे परिवर्तन गर्यो। र आफ्नो ज्ञान अर्को पुस्तामा हस्तान्तरण गर्यो। यही दीर्घ मानवीय अनुभवबाट परम्पराहरू निर्माण भए।
आधुनिक प्रयोगशाला–आधारित वैज्ञानिक पद्धतिको वर्तमान स्वरूप भने मानव सभ्यताको हजारौँ वर्षको इतिहासको तुलनामा निकै पछिल्लो विकास हो। आधुनिक विज्ञानले आफ्नो छोटो ऐतिहासिक अवधिमै मानव जीवनलाई अभूतपूर्व ज्ञान, प्रविधि र सुविधा दिएको छ। यसका उपलब्धिलाई अस्वीकार गर्ने कुनै कारण छैन।
तर विज्ञानको शक्ति स्वीकार गर्नु र विज्ञानलाई सम्पूर्ण सत्यको अन्तिम सीमा मान्नु एउटै कुरा होइन।
त्यसैगरी परम्परालाई सम्मान गर्नु र परम्परामा रहेका हरेक कुरालाई अन्तिम सत्य मान्नु पनि एउटै कुरा होइन।
परम्परामा हजारौँ वर्षको अनुभव, अनुभूति र अभ्यास छ।
विज्ञानमा व्यवस्थित परीक्षण, मापन र पुनःपरीक्षणको शक्तिशाली पद्धति छ।
“न परम्परा सत्यको स्वामी हो, न विज्ञान सत्यको स्वामी हो। दुवै सत्यको खोजका मानवीय यात्राका फरक–फरक माध्यम हुन्। परम्पराले दीर्घ अनुभव बोकेको छ; विज्ञानले व्यवस्थित परीक्षणको शक्ति बोकेको छ। दुवैलाई सम्मान गर्दै, दुवैलाई प्रश्न गर्दै, दुवैबाट उपयोगी ज्ञान ग्रहण गर्दै अघि बढ्नु नै विवेक हो।”
दुवैलाई आफ्नो–आफ्नो स्थानमा राखेर बुझ्न आवश्यक छ।
“सत्य पुरानो भएकाले सत्य होइन, नयाँ भएकाले पनि सत्य होइन। सत्य सत्य भएकै कारण सत्य हो। त्यसैले सत्यको उमेर हुँदैन।”
"पृथ्वी गोलो छ" — यो आज वैज्ञानिक तथ्य हो, तर यो हिजो पनि सत्य थियो, चाहे त्यतिबेला मानिसले स्वीकारेनन्। अनि "ब्रह्माण्डको विस्तार" केही दशकअघि मात्र पत्ता लागेको हो — तर त्यो पत्ता नलागेसम्म असत्य थिएन। यसले देखाउँछ — सत्यको उमेर होइन, सत्यता नै महत्त्वपूर्ण हो।
न परम्परा सत्यको स्वामी हो, न विज्ञान सत्यको स्वामी हो।
दुवै मानवले सत्य खोज्न बनाएका र प्रयोग गरेका ज्ञानका फरक–फरक बाटा हुन्।
“जुन ज्ञानले मानव र प्रकृतिको कल्याण गर्छ, त्यसलाई ग्रहण गरौँ; जुन ज्ञानले विनाशतर्फ लैजान्छ, त्यसलाई प्रश्न गरौँ—त्यो परम्पराबाट आएको होस् वा विज्ञानबाट।”
परम्परा : अन्धविश्वास मात्र होइन, दीर्घ अनुभव पनि हो
परम्परालाई केवल अन्धविश्वासको नाम दिएर खारेज गर्नु मानवीय अनुभवको विशाल इतिहासलाई बेवास्ता गर्नु हो। हजारौँ वर्षसम्म कुनै ज्ञान, अभ्यास वा जीवनपद्धति मानव समाजमा जीवित रहनु आफैँमा महत्वपूर्ण कुरा हो।
त्यसमा दशौँ हजार वर्षको अनुभव छ। अनुभूति छ। अवलोकन हुन सक्छ। व्यावहारिक उपयोग हुन सक्छ। पुस्तौँको अभ्यास हुन सक्छ।परम्पराको जीवन्तता त्यसलाई बुझ्नुपर्ने एउटा महत्वपूर्ण आधार हो।
तर यहाँ चेतनाको पनि आवश्यक छ।
हजारौँ वर्ष पुरानो भएकै कारण त्यसमा रहेका हरेक कुरा सत्य हुन्छन् भन्ने होइन। समयसँगै कुनै परम्परामा मूल अनुभवसँगै सामाजिक विश्वास, प्रतीक, गलत व्याख्या वा अन्धविश्वास पनि मिसिन सक्छन्।
त्यसैले परम्परालाई न आँखै चिम्लेर स्वीकार गर्नुपर्छ, न आधुनिकताको नाममा सम्पूर्ण रूपमा अस्वीकार गर्नुपर्छ।
यही चेतनापूर्ण अध्ययन हो। माटोको भाँडा: "माटोको भाँडामा खाना पकाउँदा स्वास्थ्य राम्रो" यो उपयोगी ज्ञान हो (विज्ञानले पुष्टि गरेको ताप सन्तुलन, खनिज मिश्रण)। तर "पूर्णिमाको दिन मात्र माटोको भाँडा प्रयोग गर्नुपर्छ" यो अन्धविश्वास हो (कुनै वैज्ञानिक आधार छैन)।
तुलसी: "तुलसीले रोग प्रतिरोध क्षमता बढाउँछ" उपयोगी ज्ञान (एन्टिअक्सिडेन्ट गुण प्रमाणित)। तर "तुलसीको पात ११ पटक जप गरेर मात्र खानुपर्छ" अन्धविश्वास (जपले रासायनिक संरचना बदल्दैन)।
उपवास: "महिनाको एक दिन उपवास बस्दा पाचनलाई आराम" उपयोगी अभ्यास (इन्टरमिटेन्ट फास्टिङले समर्थन गर्छ)। तर "उपवासको दिन पानी पनि नपिउनु" वा "कुनै देवताको नाम लिए मात्र फल मिल्छ" अन्धविश्वास।
आधुनिक विज्ञान : शक्तिशाली तर निरन्तर विकसित हुने ज्ञान
आधुनिक विज्ञानले मानवलाई प्रकृति बुझ्ने, रोग पहिचान गर्ने, औषधि विकास गर्ने, सञ्चार गर्ने, अन्तरिक्ष अन्वेषण गर्ने र जीवनका अनेक कठिनाइ समाधान गर्ने अभूतपूर्व क्षमता दिएको छ।
विज्ञानको ठूलो शक्ति यसको प्रश्न गर्ने स्वभावमा छ।
यसले आफूले पत्ता लगाएको कुरालाई पनि नयाँ प्रमाणका आधारमा जाँच्न सक्छ। नयाँ उपकरण आउँदा नयाँ तथ्य देखिन सक्छ। नयाँ विधि विकसित हुँदा पुरानो निष्कर्ष अझ स्पष्ट वा परिमार्जित हुन सक्छ।
आजभन्दा केही दशक अघिको प्रविधि आज त्यही अवस्थामा छैन।सञ्चार, इन्टरनेट, मोबाइल र नेटवर्क प्रविधिले लगातार परिवर्तन हुँदै हामीलाई देखाएको छ—मानव ज्ञान स्थिर छैन।
यसैले आजको वैज्ञानिक निष्कर्षलाई सम्मान गर्नुपर्छ, तर त्यसलाई ज्ञानको अन्तिम सीमा ठान्नु आवश्यक छैन। यसको अर्थ विज्ञान असत्य हो भन्ने होइन।
बरु यसको अर्थ हो, विज्ञानको शक्ति नै निरन्तर खोज र संशोधनमा छ। तर विज्ञान पूर्ण रूपमा स्वतन्त्र पनि छैन। विज्ञानको निष्कर्षलाई चार किसिमले प्रभावित गर्न सकिन्छ:
१. व्यावसायिक दबाब: तम्बाकु कम्पनीले दशकौँसम्म "धूमपानले हानि गर्दैन" भनेर अनुसन्धानलाई प्रभावित गर्यो। जीवाश्म इन्धन कम्पनीले जलवायु परिवर्तनको गम्भीरता लुकायो।
२. राजनीतिक प्रभाव: कतिपय देशले "शान्तिपूर्ण आणविक प्रविधि" भन्दै हतियार विकास गर्छन्। महामारीको समयमा राजनीतिक दबाबले अपूरो अनुसन्धानलाई स्वीकृति दिइन्छ।
३. सामाजिक पूर्वाग्रह: धेरै वर्ष चिकित्सा अनुसन्धान पुरुष शरीरमा मात्र केन्द्रित भयो — जसले महिलाका लागि औषधिको असर फरक हुन सक्ने कुरा बेवास्ता गर्यो।
४. प्रकाशन पूर्वाग्रह: वैज्ञानिक जर्नलले सफल परीक्षण मात्र प्रकाशित गर्छन्; असफल परीक्षण लुकाइन्छ। यसले "यो औषधिले काम गरेन" भन्ने यथार्थलाई दबाउँछ।
यसकारण: विज्ञानको आलोचना गर्दा वैज्ञानिक पद्धति होइन, विज्ञानको प्रशासन — कोष, नीति, प्रकाशन — लाई प्रश्न गर्नुपर्छ।
वैज्ञानिक प्रमाण : महत्वपूर्ण, तर अन्तिम सीमा होइन
हामी प्रायः भन्छौँ—“वैज्ञानिक प्रमाण चाहिन्छ।” निश्चय नै, व्यवस्थित परीक्षण र प्रमाण अत्यन्त महत्वपूर्ण छन्। तर प्रमाणको अर्थ पनि बुझ्न आवश्यक छ।
मानिसले प्रकृतिको अध्ययन गर्छ। उपकरण बनाउँछ। परीक्षण गर्छ। तथ्य संकलन गर्छ। परिणामको व्याख्या गर्छ। उपलब्ध ज्ञानका आधारमा निष्कर्ष निकाल्छ। नयाँ उपकरण आएपछि नयाँ कुरा देखिन सक्छ। नयाँ प्रविधि आएपछि पहिले नदेखिएको कुरा देखिन सक्छ। नयाँ प्रमाण आएपछि पुरानो निष्कर्ष संशोधन हुन सक्छ।
त्यसैले—
आज प्रमाणित भएको कुरा आजको ज्ञानका आधारमा प्रमाणित भएको हो। यसको अर्थ त्यसको मूल्य छैन भन्ने होइन। तर त्यसलाई कहिल्यै परिवर्तन नहुने सार्वभौम सत्य ठान्नु पनि उचित हुँदैन।
त्यस्तै, आधुनिक विज्ञानले अहिलेसम्म कुनै कुरा पत्ता लगाउन नसकेको भन्दैमा त्यो स्वतः असत्य हुँदैन। तर प्रमाणित नभएको कुरालाई केवल सम्भावना भएकै कारण सत्य पनि मान्न मिल्दैन।
यहीँ विवेक आवश्यक हुन्छ । वैज्ञानिक प्रमाणलाई पनि तीन प्रश्नले जाँच्न सकिन्छ । यो प्रमाण कसको पक्षमा छ? कसको विपक्षमा? र यसको दीर्घकालीन प्रभाव के हो? प्रमाण आफैंमा अन्तिम होइन, प्रमाणको व्याख्या र प्रयोग नै महत्त्वपूर्ण हो।
कुनै कुरा आज प्रमाणित छ भने त्यो आजको उपकरण र ज्ञानको सीमाभित्र प्रमाणित हो। भोलि नयाँ उपकरण आउँदा त्यही प्रमाण थप स्पष्ट वा संशोधित हुन सक्छ। तर यसको अर्थ आजको प्रमाण झूटो हो भन्ने होइन। यसको अर्थ सत्यको पहिचान कालान्तरमा फैलिन्छ, तर सत्य आफैं परिवर्तन हुँदैन। गोलो पृथ्वी हिजो पनि गोलो थियो, आज पनि गोलो छ पहिचानको उमेर बदलियो, सत्यको उमेर होइन।
सत्य : पुरानो वा नयाँ होइन, सत्य भएकै कारण महान्
सत्यको खोजमा सबैभन्दा ठूलो भ्रममध्ये एउटा हो—पुरानो कुरा सही हुन्छ र नयाँ कुरा गलत हुन्छ, वा नयाँ कुरा सही हुन्छ र पुरानो कुरा गलत हुन्छ भन्ने सोच। दुवै गलत हुन्।
सत्य दशौँ हजार वर्ष पुरानो भए पनि सत्य हो। सत्य आज मात्र पत्ता लागेको भए पनि सत्य हो। सत्य भोलि पत्ता लागे पनि सत्य नै हुनेछ।
त्यसैले—
“सत्य हिजो जन्मिएको भए पनि महान् हुन्छ।” सत्यको महानता उसको उमेरमा होइन, उसको सत्यतामा हुन्छ।
यसकारण सत्य कुनै एउटा युगको, कुनै एउटा परम्पराको वा कुनै एउटा ज्ञान–पद्धतिको स्वामित्व होइन। सत्यको प्रश्न "कहिले?" होइन, "के?" हो। वेदको कुनै ज्ञान दशौँ हजार वर्ष पुरानो भए पनि सत्य हो भने सत्य नै हो। आइन्सटाइनको सापेक्षताको सिद्धान्त सय वर्ष पुरानो भए पनि वा भोलि पत्ता लाग्ने कुनै तथ्य सबैको मूल्य सत्यतामा छ, उमेरमा होइन।
सदुपयोग : जब विज्ञान सृष्टिको सहयोगी बन्छ
विज्ञान मानिसको जीवन सहज बनाउन, प्रकृतिलाई बुझ्न र जीवनको रक्षा गर्न प्रयोग हुन्छ भने त्यो सृष्टिको सहयोगी बन्न सक्छ।
नवीकरणीय ऊर्जा, जल संरक्षण, मौसम तथा जलवायुको पूर्वानुमान, भूकम्पप्रतिरोधी संरचना र स्वच्छ प्रविधिले मानिसलाई प्रकृतिका चुनौतीसँग जुध्न सहयोग गरिरहेका छन्।
खोप, औषधि, रोग पहिचान, जैविक खेती तथा लोपोन्मुख प्रजातिको संरक्षणजस्ता क्षेत्रमा विज्ञानले महत्वपूर्ण योगदान दिएको छ।
इन्टरनेटले ज्ञानलाई धेरै मानिससम्म पुर्याएको छ। भाषा अनुवादले फरक भाषा बोल्ने मानिसलाई नजिक ल्याएको छ। प्रविधिले शिक्षा, सञ्चार र अन्य मानवीय सेवाका क्षेत्रमा नयाँ सम्भावना खोलेको छ।
यहाँ विज्ञान प्रकृतिको विरोधी होइन।
मानिस प्रकृतिभन्दा अलग अस्तित्व होइन भन्ने बोधसहित विज्ञानको प्रयोग गरियो भने प्रविधि जीवनको सहयात्री बन्न सक्छ।
दुरुपयोग : इन्द्रियको विस्तार जब विनाशको माध्यम बन्छ
समस्या विज्ञानमा मात्र होइन; विज्ञानले दिएको शक्तिको प्रयोगमा छ।जब मानिस आफ्नो क्षमता बढाउनुभन्दा मानव र सृष्टिमाथि प्रभुत्व जमाउन विज्ञानको प्रयोग गर्न थाल्छ, त्यहीँबाट दुरुपयोग सुरु हुन्छ।
परमाणु बम बनाउने ज्ञान र औषधि बनाउने ज्ञान एउटै मानव बुद्धिबाट आउँछ। प्रश्न ज्ञानको क्षमतामा होइन। प्रश्न त्यसको दिशा र प्रयोगमा छ।
भौतिक क्षेत्रमा
परमाणु हतियार, रासायनिक हतियार र जीवाश्म इन्धनको अत्यधिक प्रयोगले युद्ध, विकिरण, जलवायु परिवर्तन र वातावरणीय क्षतिजस्ता समस्या निम्त्याएका छन्।
जैविक क्षेत्रमा
जैविक हतियार, जैविक विविधताको विनाश, अत्यधिक माछा मार्ने काम तथा औषधि र एन्टिबायोटिकको गलत वा अत्यधिक प्रयोगले मानव स्वास्थ्य र प्राकृतिक सन्तुलनमा गम्भीर असर पार्न सक्छ।
सन् १९५० को दशकमा कीटनाशक DDT लाई "चमत्कारी रसायन" भनियो — मलेरिया नियन्त्रण भयो, खाद्य उत्पादन बढ्यो। तर दीर्घकालीन असरबारे सोचिएन। DDT ले चराको अण्डाको बोक्रा पातलो बनायो, पारिस्थितिकी नष्ट गर्यो, र मानवमा क्यान्सरको जोखिम बढायो। अन्ततः प्रतिबन्धित भयो — तर क्षति भइसकेको थियो। यो विवेकविहीन विज्ञानको जीवन्त उदाहरण हो।
चेतना र सामाजिक क्षेत्रमा
प्रविधिको दुरुपयोग अझ सूक्ष्म पनि हुन सक्छ। निगरानी, व्यक्तिगत डाटाको दुरुपयोग, मानिसको मनोविज्ञानलाई प्रभावित गर्ने प्रविधि र सामाजिक सञ्जालका विभाजनकारी प्रयोगले मानिसको सोच, सम्बन्ध र सामाजिक विश्वासमा असर पार्न सक्छन्।
आज हामीसँग मानिसलाई जोड्ने साधन पनि छ र मानिसलाई एकअर्काबाट टाढा पार्ने साधन पनि।
त्यसैले प्रश्न फेरि त्यहीँ आउँछ—हामीले शक्ति बढायौँ; तर त्यसलाई सम्हाल्ने विवेक पनि बढायौँ त?
विज्ञानको दुरुपयोगको जरा : लोभ, अज्ञानता र अल्पदृष्टि
विज्ञानको दुरुपयोगका पछाडि धेरै कारण छन्। तर तीन कुरा विशेष रूपमा देखिन्छन्—लोभ, अज्ञानता र अल्पदृष्टि।
लोभ
असीम नाफा, शक्ति र उपभोगको चाहनाले मानिसलाई आजको फाइदा देखाउँछ, भोलिको क्षति देखाउँदैन जुन विकराल पनि हुनसक्छ।
अज्ञानता
प्रकृति र जीवन एकअर्कासँग जोडिएका छन् भन्ने कुरा नबुझ्दा एउटा ठाउँमा गरिएको हस्तक्षेपको असर अर्को ठाउँमा पर्न सक्छ भन्ने कुरा हामी बिर्सन्छौँ।
अल्पदृष्टि
आजको उपलब्धिलाई मात्र सफलता ठान्नु र आउने पुस्ताले त्यसको मूल्य चुकाउनुपर्ने कुरा नसोच्नु पनि विज्ञानको दुरुपयोगको एउटा कारण हो।
मानिसको हातमा शक्ति बढ्दै जानु आफैँमा समस्या होइन। समस्या तब सुरु हुन्छ, जब मानिसको शक्ति बढ्छ तर मानिसको विवेक बढ्दैन। वा हात र मन इन्द्रिय बलिया हुँदैमा मानिस महान् हुँदैन।मनको विवेक बढेपछि मात्र उसको शक्ति मानवताको शक्ति बन्छ।
विज्ञानको विकाससँगै चेतनाको विकास
विज्ञानलाई रोक्नु समाधान होइन। प्रविधिबाट भाग्नु पनि समाधान होइन।
प्रश्न विज्ञानको विकास रोक्ने होइन; विज्ञानको दिशाबारे सचेत हुने हो।"चेतना" भनेको यहाँ आफूले गरेको कामको परिणाम आफूले नदेखे पनि अरूले भोग्नुपर्ने हुन सक्छ भन्ने बोध हो। जस्तो: कुनै कम्पनीले नदीमा फोहोर फाल्दा त्यसको असर तल्लो गाउँका बालबालिकाको स्वास्थ्यमा पर्छ। यो बोध नै चेतना हो। सकारात्मक चेतनाको उदाहरण: एउटा प्रविधि कम्पनीले उत्पादन बनाउँदा त्यसको पुन:प्रयोग र रिसाइकल को व्यवस्था पनि गर्छ भने उसले आफ्नो उत्पादनको दीर्घकालीन परिणामबारे चेतना राखेको देखिन्छ। उसले सोध्यो "यो उत्पादन प्रयोगपछि कहाँ जान्छ? कसलाई असर गर्छ?" यो बोध नै सकारात्मक चेतना हो। प्रविधि निर्माताले यो बोध गर्यो भने उसले फोहोर नियन्त्रणको पनि व्यवस्था गर्छ।
यसका लागि विज्ञानसँगै जीवन बुझाउने शिक्षा आवश्यक छ। बच्चाले “यो कसरी काम गर्छ?” मात्र होइन—“यसको असर के पर्छ?” भनेर पनि सोध्न सिक्नुपर्छ।
शक्तिशाली प्रविधि विकास गर्दा त्यसको सम्भावित दुरुपयोग र दीर्घकालीन असरबारे सोच्नुपर्छ। प्रविधि बनाउन सकिन्छ भन्दैमा त्यसलाई प्रयोग गर्नैपर्छ भन्ने हुँदैन।
अनुसन्धान केवल नाफा, बजार वा सैन्य शक्तिका लागि मात्र होइन, मानव जीवन र पृथ्वीको हितका लागि पनि हुनुपर्छ। ज्ञान जति व्यापक हुन्छ, त्यसको जिम्मेवारी पनि त्यति नै ठूलो हुन्छ।
वैज्ञानिक, इन्जिनियर, उद्यमी र नीति–निर्माताले आफ्नो सिर्जनालाई बाहिरबाट पनि हेर्न सक्ने साक्षी चेतना विकास गर्नुपर्छ। कहिलेकाहीँ आफूले बनाएको वस्तुबाट एक कदम पछाडि हटेर प्रश्न गर्नुपर्छ—
मानव कल्याण र प्रकृति कल्याण : अन्तिम नैतिक कसौटी
अब प्रश्न आउँछ—परम्परा र विज्ञानलाई जाँच्ने अन्तिम कसौटी के हो? केवल पुरानो वा नयाँ ? केवल धार्मिक वा वैज्ञानिक ? केवल अनुभव वा प्रयोगशाला ? केवल परम्परा वा आधुनिकता यीमध्ये कुनै एक मात्र पर्याप्त छैन।
हामीले सोध्नुपर्छ—यसले मानव जीवनमा कस्तो प्रभाव पार्छ ?यसले प्रकृतिमा कस्तो प्रभाव पार्छ ? यसको अनुभव के भन्छ?यसको परीक्षणले के देखाउँछ ? यसको परिणाम के भएको छ?
कुनै कुरा मानव कल्याण र प्रकृति कल्याणका लागि छ भने त्यसलाई ग्रहण गर्नुपर्छ। र कुनै कुरा मानव तथा प्रकृतिको कल्याणविपरीत छ भने त्यो हजारौँ वर्ष पुरानो होस् वा अत्याधुनिक विज्ञानको नाममा प्रस्तुत गरिएको होस्—त्यसलाई प्रश्न गर्नुपर्छ अस्वीकार गर्न सक्नुपर्छ।
"कल्याण" भनेको तत्कालको फाइदा मात्र होइन, दीर्घकालीन प्रभाव समेत हेर्नु हो। औषधिको सन्दर्भमा: एउटा औषधिले रोग निको पार्यो भने मात्र पुग्दैन त्यसको साइड इफेक्ट, अरू औषधिसँगको अन्तरक्रिया, र जीवनशैलीमा पर्ने असर पनि हेर्नुपर्छ। खेतीको सन्दर्भमा: धानको उत्पादन बढ्यो भने मात्र पुग्दैन माटोको स्वास्थ्य, पानीको प्रयोग, र आउने पुस्ताको उत्पादन क्षमता पनि हेर्नुपर्छ। यो समग्र दृष्टिकोण नै कल्याण हो। पुरानो होस् वा नयाँ, सत्यको कसौटी मानव र प्रकृतिको कल्याणसँग पनि जोडिनुपर्छ। यही निष्पक्षताको आधार हो।
भ्रमबाट बचौँ, विवेकपूर्ण विश्वास गरौँ
त्यसैले परम्परा देखि चलि आएको चलन भन्दै आँखै चिम्लेर विश्वास गर्नु पनि उचित होइन।
र आधुनिक विज्ञानले अहिलेसम्म पत्ता लगाउन सकेको छैन भन्दै अस्वीकार गर्नु पनि उचित होइन।
हामीले विश्वास गर्दा पनि विवेक चाहिन्छ। प्रश्न गर्दा पनि विनम्रता चाहिन्छ। परम्पराको सम्मान गरौँ, तर त्यसलाई विनम्रसँग प्रश्न गर्न नछोडौँ। विज्ञानको सम्मान गरौँ, तर त्यसलाई अन्तिम सत्य नठानौँ।
अनुभवलाई सुनौँ। परीक्षण गरौँ। प्रमाणलाई जाँचौँ। परिणामलाई हेरौँ। र सबैभन्दा महत्वपूर्ण कुरा—त्यसले मानव र प्रकृतिको कल्याण गर्छ कि गर्दैन, त्यसलाई पनि हेरौँ।
विज्ञान, मानव र सृष्टि : सम्बन्धको मूल प्रश्न
अन्ततः विज्ञानलाई एउटा सरल सम्बन्धबाट बुझ्न सकिन्छ—विज्ञानले क्षमता दिन्छ। मानव चेतनाले दिशा दिन्छ। सृष्टिले त्यसको परिणाम भोग्छ। जब क्षमता चेतनाबाट अलग हुन्छ, त्यहाँ दुरुपयोगको सम्भावना बढ्छ।
जब क्षमता करुणा, विवेक, सन्तुलन र दीर्घदृष्टिसँग जोडिन्छ, विज्ञान जीवनको सहयोगी बन्छ। हामीले आँखाको पहुँच बढायौँ। कानको पहुँच बढायौँ। हातको शक्ति बढायौँ। स्मरण र गणनाको क्षमता बढायौँ।
अब प्रश्न यति मात्र होइन कि हामी अझ कति गर्न सक्छौँ। प्रश्न यो पनि हो— हामीले आफूलाई कति बुझ्यौँ? हामीले आफ्नो जिम्मेवारी कति बुझ्यौँ? र हामीले आफ्नो शक्तिलाई जीवनको पक्षमा कति प्रयोग गर्यौँ? विज्ञानको भविष्य केवल नयाँ आविष्कारमा छैन।
तर शक्ति बढ्दै जाँदा विवेक पछाडि पर्यो भने त्यही विज्ञान विनाशको साधन बन्न सक्छ। यस लेखमा विवेक भनेको तीन प्रश्न सोध्ने बानी; चेतना भनेको आफ्नो कामको परिणाम अरूले भोग्ने बोध; कल्याण भनेको तत्काल र दीर्घकालीन दुवै असर हेर्ने दृष्टिकोण। यी तीनवटै मिलेर विज्ञानको सदुपयोगको आधार बन्छन्।
हामीले सत्यको उमेर हेर्नुभन्दा सत्यको प्रयोग हेर्नुपर्छ। कुनै ज्ञान हिजो पत्ता लागेको होस् वा आज त्यसको मूल्य त्यसले के परिणाम दिन्छ भन्नेमा छ। सत्यको उमेरले त्यसलाई महान् बनाउँदैन; सत्यताले मात्र बनाउँछ। त्यसैले विज्ञानलाई दोष दिनुभन्दा पहिले हामीले आफूलाई सोध्नुपर्छ...
“मेरो हातमा आएको यो शक्ति म कहाँ लैजाँदैछु?” यही प्रश्नको उत्तरमा विज्ञानको सदुपयोग र दुरुपयोगको वास्तविक सीमा लुकेको छ।
निष्कर्ष :
परम्परा हजारौँ वर्षको अनुभव बोकेर आएको हुन सक्छ। विज्ञान आधुनिक परीक्षण र अनुसन्धानको शक्तिशाली माध्यम हो। दुवैको आ–आफ्नो शक्ति र सीमा छन्। दुवैबाट मानवले सिक्न सक्छ।
तर सत्यको स्वामित्व कसैसँग छैन। न परम्पराले, न विज्ञानले। सत्यलाई खोज्नुपर्छ, जाँच्नुपर्छ, अनुभव गर्नुपर्छ, र त्यसको परिणामलाई जीवनको सन्दर्भमा बुझ्नुपर्छ।
सत्यको उमेर हुँदैन सत्य पुरानो भए पनि, नयाँ भए पनि, सत्यता नै यसको कसौटी हो।
हाम्रो यात्रा अन्धविश्वासबाट विवेकतर्फ, अन्धअस्वीकारबाट विनम्रतर्फ, शक्तिबाट जिम्मेवारीतर्फ, र ज्ञानबाट कल्याणतर्फ हुनुपर्छ। विज्ञानको साँचो महानता शक्तिमा होइन, त्यस शक्तिलाई जीवन र प्रकृतिको पक्षमा प्रयोग गर्ने विवेकमा छ।
“जब विज्ञान इन्द्रियको गुलाम बन्छ, विनाशको सम्भावना बढ्छ।जब विज्ञान चेतनाको सेवक बन्छ, सृष्टि सुन्दर हुन्छ।”


0 Comments