स्वैच्छिक गुलाम — प्रविधि र कर्पोरेट संस्कृति
मानिसले आफ्नै बुद्धिबाट मेसिन बनायो। मेसिनले श्रम घटायो, समय बचायो, ज्ञानको पहुँच बढायो र संसारलाई अभूतपूर्व गतिमा जोड्यो। आज त्यही प्रविधि कृत्रिम बुद्धिमत्ताको रूपमा मानिसको सोच, निर्णय, सिर्जना र व्यवहारको अझ नजिक पुगेको छ।
तर अब प्रश्न केवल यति होइन कि प्रविधि कति शक्तिशाली बन्छ।
असली प्रश्न यो हो—प्रविधि शक्तिशाली हुँदै जाँदा मानिस कति स्वतन्त्र रहन्छ, र मानिस मानवीय रहन्छ कि मानिसभन्दा तल गिर्छ?
गुलाम आखिर को हो?
गुलामीको रूप बदलिन्छ, सार बदलिँदैन। हिजो गुलामको शरीर नियन्त्रणमा हुन्थ्यो। आज उसको समय, पैसा र ध्यान नियन्त्रणमा छ। भोलि उसको समय, पैसा, ध्यान, निर्णय र चेतना नै सजिलै नियन्त्रणमा पर्न सक्छ।
हिजो गुलामी हत्कडी र दासत्वमा देखिन्थ्यो। आज त्यो सुविधा, निर्भरता, स्क्रिन, सूचना, शान–शौकत र उपभोगको आकर्षणभित्र लुकेको छ। भोलि त्यो अझ सूक्ष्म भएर मानिसले आफ्नो सम्पूर्ण निर्णयको जिम्मेवारी नै अरूको प्रणालीलाई सुम्पिएको अवस्थामा देखिन सक्छ।
त्यसैले सहज रूपमा स्वीकारिएको स्वैच्छिक गुलामीको प्रश्न झन् गम्भीर छ। मानिसलाई कसैले बाँधेको छैन, कसैले जबरजस्ती गरेको छैन। तर उसले आफ्नो स्वतन्त्रता आफैँ सुम्पिरहेको त छैन?
मेसिन हाम्रो साधन हो कि व्यवहारको निर्माता?
मेसिन हामीले बनायौँ—अब हामीलाई कसले बनाउँदैछ?
हामी के हेर्छौँ, के पढ्छौँ, कुन सूचना पाउँछौँ, कुन वस्तु किन्छौँ र कति समय स्क्रिनमा बिताउँछौँ—यी सबैमा डिजिटल प्रणालीको प्रभाव बढ्दै गएको छ। मेसिन हाम्रो जीवन सजिलो बनाउन बनेको हो। तर यदि हाम्रो रोजाइ नै मेसिनले निर्देशित गर्न थाल्यो भने प्रश्न उठ्छ—मेसिन हाम्रो साधन हो कि बिस्तारै हाम्रो व्यवहार र आदतको निर्माता?
मानिसले मेसिन बनाउन सक्छ। तर आफ्नो चेतनाको मालिक मेसिनलाई बनाउनु हुँदैन र आफ्नो मानवीय अधिकार मेसिनलाई सुम्पिनु हुँदैन।
AI ले निर्णय गर्न सक्छ—तर जिम्मेवारी कसले बोक्छ?
AI ले निर्णयमा सहयोग गर्न सक्छ। तथ्य सङ्कलन गर्न, विश्लेषण गर्न, सम्भावना देखाउन र विकल्प प्रस्तुत गर्न सक्छ। तर निर्णयको परिणाम भोग्ने को हो?
मेसिनले गल्ती गर्दा त्यसलाई पश्चात्ताप हुँदैन। त्यसले पीडा भोग्दैन। त्यसले आफ्नो निर्णयको मानवीय परिणामको भागीदार बन्दैन। त्यसैले मेसिन निर्णयमा सहयोगी हुन सक्छ; जिम्मेवारीको मालिक जवाफदेही मानिस नै हुनुपर्छ।
सुविधा कि स्वैच्छिक गुलामी?
गुलामी सधैँ हत्कडीमा हुँदैन। कहिलेकाहीँ गुलामी सुविधा, महत्त्वाकाङ्क्षा, सुरक्षा र सहयोगी बनेर आउँछ।
स्क्रिन, सूचना, मनोरञ्जन, सहज सेवा र निरन्तर जोडिएको डिजिटल संसारले जीवन सहज बनाएको छ। तर यही सुविधासँगै समय, ध्यान, व्यक्तिगत डेटा र व्यवहारमाथिको निर्भरता पनि बढ्दै गएको छ।
मानिसले स्वेच्छाले आफ्नो ध्यान दिन्छ। स्वेच्छाले डेटा दिन्छ। स्वेच्छाले निर्भर हुन्छ। यही कारण आधुनिक गुलामीको सबैभन्दा कठिन पक्ष यही हो—गुलामलाई आफू गुलाम भएको महसुस नै हुँदैन।
AI को युगमा सबैभन्दा ठूलो खतरा हत्कडी होइन—बिना हत्कडीको स्वैच्छिक गुलाम बन्नु हो।
प्रविधि र कर्पोरेट संस्कृति
AI को शक्ति केही ठूला प्रविधि कम्पनी, विशाल डेटा केन्द्र, कम्प्युटिङ क्षमता र डिजिटल पूर्वाधारमा तीव्र रूपमा केन्द्रित हुँदै गएको छ। यसले अभूतपूर्व अवसर पनि ल्याएको छ। तर शक्ति केन्द्रीकरणसँगै नियन्त्रण र उत्तरदायित्वको प्रश्न पनि उठ्छ।
कर्पोरेट संस्कृति र उपभोक्तावादी बजारको एउटा स्वाभाविक आवश्यकता मानिसको ध्यान, समय र उपभोगसँग जोडिएको हुन्छ। मानिस जति धेरै उपभोग गर्छ, जति धेरै निर्भर हुन्छ र जति लामो समय प्रणालीसँग जोडिन्छ, बजारका लागि त्यति नै मूल्यवान् हुन्छ।
त्यसैले प्रश्न प्रविधि आफैँ खराब छ भन्ने होइन। प्रश्न यो हो—प्रविधि मानिसको आवश्यकता पूरा गर्न प्रयोग भइरहेको छ कि मानिसको आवश्यकता नै बजार र प्रणालीले निर्माण गर्न थालेको छ?
आधुनिक प्रविधि र कर्पोरेट संस्कृतिको शक्ति मानिसको जीवन सहज बनाउन प्रयोग होस्; मानिसको समय, श्रम, पैसा, ध्यान र निर्भरतालाई निरन्तर उपभोगमा बदल्ने माध्यम नबनोस्।
हामी आफ्नो अहङ्कार, शान–शौकत र रवाफ बचाउने नाममा आफ्नो समय, श्रम, पैसा र स्वतन्त्रता कति सुम्पिरहेका छौँ?
नेपालको प्रश्न
नेपालको प्रश्न पनि यही हो।
हामी अरूले बनाएको AI प्रयोग गर्ने समाज मात्र बन्ने कि आफ्नो भाषा, ज्ञान र आवश्यकताबाट AI निर्माण गर्ने समाज बन्ने?
डिजिटल युगमा आफ्नो परम्परा, ज्ञान, भाषा र सांस्कृतिक सम्पदामाथिको अधिकार हामी आफैँ नेपालीले लिने कि हामी सानोसानो कुरामा वर्गको नाममा, जातको नाममा, भाषाको नाममा, राष्ट्रियताको नाममा र जातीय मुक्तिको नाममा लडिरहने?
हाम्रो सम्पूर्ण गौरव, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताको महत्त्वपूर्ण हिस्सा प्रविधिको नाममा विदेशी कम्पनीहरूलाई सुम्पिने?
नागरिकको डेटा र राज्यको दायित्व
आज नागरिकले आफ्नो व्यक्तिगत विवरण, परिचय, आर्थिक अवस्था, स्वास्थ्य, शिक्षा, सम्पत्ति र अन्य महत्वपूर्ण सूचना राज्यका विभिन्न निकायलाई दिनुपर्छ। राज्यले नागरिकबाट यस्ता महत्वपूर्ण डेटा लिन्छ भने त्यसको सुरक्षा, गोपनीयता र उचित प्रयोग सुनिश्चित गर्नु पनि राज्यकै दायित्व हो।
तर प्रश्न केवल सरकारले नागरिकको डेटा सङ्कलन गर्छ कि गर्दैन भन्ने होइन। प्रश्न यो पनि हो—त्यो डेटा कहाँ राखिएको छ? कसरी प्रयोग भइरहेको छ? कसको पहुँचमा छ? त्यसको दुरुपयोग भएमा नागरिकलाई कसले जवाफ दिने?
नागरिकको डेटा केवल व्यक्तिगत सूचना मात्र होइन। ठूलो मात्रामा सङ्कलित डेटा देशको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थासँग पनि जोडिन्छ। यसको गलत प्रयोग, अनधिकृत पहुँच, बाह्य नियन्त्रण वा गैरजिम्मेवार प्रयोगले नागरिकको व्यक्तिगत जीवनमा मात्र होइन, राष्ट्रिय हित र सामाजिक स्थिरतामा समेत असर पार्न सक्छ। नागरिकको डेटा देशमा हुने राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अस्थिरताको माध्यम वा कारकसमेत बन्न सक्ने संवेदनशील शक्ति हो।
त्यसैले नागरिकबाट डेटा लिने अधिकारसँगै त्यसको संरक्षण, जिम्मेवार प्रयोग र दुरुपयोग रोक्ने दायित्व पनि राज्यसँग जोडिएको हुन्छ। डेटा सङ्कलन गरेर मात्र राज्यको दायित्व पूरा हुँदैन। त्यसको प्रयोगमाथि प्रभावकारी अनुगमन, पारदर्शिता, सुरक्षा र जवाफदेहिता पनि आवश्यक हुन्छ।
नागरिकको डेटा नागरिककै अधिकारसँग जोडिएको विषय हो। त्यसैले राज्यले नागरिकको डेटा कति सुरक्षित राखेको छ, त्यसको प्रयोग कसरी भइरहेको छ र त्यसबाट राष्ट्रिय हित तथा सामाजिक स्थिरतामा कुनै जोखिम त उत्पन्न भइरहेको छैन भन्ने प्रश्न उठ्नु स्वाभाविक मात्र होइन, आवश्यक पनि हो।
यी प्रश्न केवल प्रविधिका प्रश्न होइनन्। यी हाम्रो भविष्य, आत्मनिर्भरता, राष्ट्रिय चेतना र सार्वभौमिकताका प्रश्न पनि हुन्।
संस्कृति डेटा मात्र होइन
संस्कृति केवल तस्बिर, भिडियो वा डिजिटल अभिलेख होइन।
मेसिनले लोककथा लेख्न सक्छ। पुरानो गीत पुनः प्रस्तुत गर्न सक्छ। आवाजको नक्कल गर्न सक्छ। तर आमाको मुखबाट सुनेको कथाको मिठास, आमाबुबाबाट पाएको संस्कार, गाउँको सामूहिक स्मृति र पुस्तौँदेखि हस्तान्तरण भएको अनुभव र अनुभूति केवल डेटा होइन।
संस्कृतिलाई डिजिटल गरेर सुरक्षित गर्न सकिन्छ; तर संस्कार, संस्कृति र परम्पराबाट पाउने शान्ति, अनुभव र अनुभूति गर्न मानिस नै आवश्यक हुन्छ।
प्रविधिले संस्कृतिको स्मृति जोगाओस्; मानिसले परम्परा, संस्कार, संस्कृति, मानवीय मर्म र भावनाको आत्मा जोगाओस्।
सिर्जना गर्ने मानिस कि उपभोग गर्ने मानिस?
AI ले लेख्न सक्छ। चित्र बनाउन सक्छ। संगीत सिर्जना गर्न सक्छ। यसले मानिसको सिर्जनशीलतालाई सहयोग गर्न सक्छ।
तर यदि मानिसले आफैँ सोच्न, लेख्न, बनाउन र सिर्जना गर्न छोडेर सबै कुरा मेसिनलाई सुम्पियो भने मानिस सिर्जनाकर्ताबाट उपभोक्तामा सीमित हुन सक्छ।
जब मानिस सिर्जना गर्न छोड्छ र केवल उपभोग गर्न थाल्छ, ऊ मानव हुनुको एउटा महत्त्वपूर्ण सार गुमाउन थाल्छ।
सिर्जना गर्नु मानव हुनुको अधिकार हो। त्यसबाट प्राप्त सुख–दुःख, लाभ–हानि, माया–ममता, प्रेम, दया, शान्ति, करुणा, तातो–चिसो—यी अनुभव र अनुभूति नै मानवीयता हुन्। त्यो अधिकार बेच्नु हुँदैन।
मानिस मेसिनजस्तो बन्नु हुँदैन
AI लाई मानवजस्तो संवाद गर्न सिकाउन सकिन्छ। भावनाजस्तो प्रतिक्रिया दिन सकिन्छ। तर प्रश्न मेसिन कति मानवजस्तो देखिन्छ भन्ने होइन।
प्रश्न यो हो—मानिस आफैँ कति मेसिनजस्तो बन्दैछ?
यदि मानिसको जीवन केवल गति, उत्पादकता, गणना, प्रदर्शन र परिणाममा सीमित भयो भने उसले आफ्नो मानवीय गहिराइ गुमाउन सक्छ।
मानिसको शक्ति केवल गणनामा छैन। उसको शक्ति प्रेममा छ। करुणामा छ। विवेकमा छ। सम्बन्धमा छ। पीडा बुझ्ने क्षमतामा छ। अर्थ खोज्ने क्षमतामा छ।
मेसिनलाई मानव बनाउने मोहमा मानिस आफैँ मेसिन बन्नु हुँदैन।
प्रकृतिको सीमा र मानव जीवनको सौन्दर्य
मानिस प्रकृतिको प्राणी हो। जन्म, मृत्यु, परिवर्तन, सीमा र अस्थिरता प्रकृतिका नियम हुन्।
प्रविधिले मानिसको आयु बढाउन सक्छ। रोगसँग लड्न सक्छ। क्षमताको विस्तार गर्न सक्छ। तर मानिसलाई प्रकृतिबाट पूर्ण रूपमा अलग गर्न सक्दैन।
मेसिन थाक्दैन, मानिस थाक्छ। मेसिनलाई निद्रा आवश्यक नहुन सक्छ, मानिसलाई हुन्छ। मानिस जन्मन्छ र मर्छ।
यही सीमा मानव जीवनको कमजोरी मात्र होइन—यसको सौन्दर्य पनि हो।
प्रकृतिलाई जित्ने अहङ्कारभन्दा प्रकृतिसँग सहअस्तित्वको विवेक ठूलो हो।
मानिस डेटा मात्र नबनोस्
AI ले तथ्याङ्क, डेटा र सन्दर्भका आधारमा विश्लेषण गर्न र उत्तर उत्पादन गर्न सक्छ।
तर मानिसले सोच्न छोड्यो भने ऊ केवल मेसिनको उपकरण मात्र बन्दैन—मेसिनको डेटा पनि बन्छ।
उसको ध्यान डेटा बन्छ। उसको व्यवहार डेटा बन्छ। उसको रोजाइ डेटा बन्छ। उसको निर्भरता बजारको शक्ति बन्छ।
मेसिनले शब्द लेख्न सक्छ। तर मानवीय स्पर्शले मानिसलाई सहज, सरल, हल्का र शान्त बनाउन सक्ने अनुभव र अनुभूति मेसिनले त्यसैगरी दिन सक्छ कि सक्दैन—यो प्रश्न अझै महत्वपूर्ण छ।
AI को विकास रोक्ने होइन, विवेकपूर्ण प्रयोग गर्ने हो
AI को विकास रोक्ने कुरा होइन। प्रश्न यसको शक्ति कसरी प्रयोग हुन्छ भन्ने हो।
प्रविधि केही संस्थाको शक्ति मात्र बन्नु हुँदैन। AI मानव समाजको सेवामा हुनुपर्छ; मानव समाज AI को सेवक बन्नु हुँदैन।
AI मानव समाजको सेवामा समर्पित साधन बन्नुपर्छ।
अब प्रश्न AI कति बुद्धिमान हुन्छ भन्ने होइन। प्रश्न यो हो—मानिस कति सचेत, सजग र विवेकी हुन्छ?
मेसिन जति बुद्धिमान हुँदै जान्छ, मानिस त्यति नै सरल, सहज, विवेकी, करुणामय, सिर्जनशील र जिम्मेवार बन्न सक्नुपर्छ।
त्यसका लागि सोच्न छोड्नु हुँदैन। प्रश्न गर्न छोड्नु हुँदैन। आफ्नो भाषा, संस्कृति र ज्ञानलाई डिजिटल गर्नुपर्छ। AI लाई सक्रिय सहयोगी साधन बनाउनुपर्छ, मालिक बनाउनु हुँदैन।
किनकि भविष्य AI ले एक्लै बनाउने होइन। AI लाई कसरी प्रयोग गर्ने भन्ने मानव चेतनाले भविष्यको दिशा निर्धारण गर्नेछ।
अन्ततः प्रश्न मेसिन कति शक्तिशाली भयो भन्ने होइन—
“मेसिन जति शक्तिशाली बन्दै जान्छ, मानिसले आफ्नो मानवीयता त्यति नै जोगाउनुपर्छ।”
प्रविधि मानिसको हातमा शक्तिशाली साधन बनोस्, तर मानिस आफ्नो चेतना, विवेक, निर्णय र मानवीयता प्रविधिको हातमा नसुम्पियोस्।




0 Comments