ए मानव ! तँ को होस् ?


ए मानव !

— गणेश कटवाल


ए मानव, तँ को होस् ?
कुन माटोको पुतली होस् ?
आँखा छन् — तर देख्दैनस्
कान छन् — तर सुन्दैनस्
जिब्रो छ — तर स्वाद थाहा छैन
अनि सोध्छस् — म को हुँ ?


तेरो जन्मको लक्ष्य के हो ?
धन जोड्नु ? नाम कमाउनु ?
या आफैंलाई चिन्नु ?
जन्म लियौ — मर्नलाई
तर बाँच्न बिर्सियौ
के यही हो तेरो लक्ष्य ?


तँ कसको लागि काम गर्दैछस् ?
कर्म इन्द्रियको लागि?
हात चल्छ — पैसा आउँछ
खुट्टा चल्छ — दौडिन्छस्
तर आत्मा कहाँ छ?
के तँ कठपुतली होस् — जसलाई अरूले नचाउँछन् ?


ज्ञानेन्द्रियको लागि?
आँखाले रूप हेर्छ
कानले शब्द सुन्छ
तर भित्र के छ?
आफैँलाई चिन्छस्?

आफैँलाई समय दिएको छस्?
आफैँलाई बुझ्ने प्रयत्न
गरिस्?


मनको लागि?

मन त चञ्चल छ
आज यो भन्छ, भोलि त्यो
कहिले यता तान्छ
कहिले उता धकेल्छ
इच्छा र भावनाको लहरमा
डुब्दै, उत्रँदै
आफैँभित्र अल्झिएर
तँ थकित छस्।

तर भन त मानव,
मनलाई बुझ्दैछस्
कि मनकै पछि लाग्दै
आफैँलाई बिर्सँदैछस्?


या अहंकारको लागि?

"म" र "मेरो" भन्दै
महल बनाउँछस्
त्यसैलाई आफ्नो संसार ठान्छस्
एक दिन महल भत्किन्छ
संसार बदलिन्छ
तर तँभित्रको "म"
छोड्न सक्दैनस्।


कसको लागि?
कसको लागि?
कहिलेसम्मका लागि?

अरूलाई खुसी पार्दापार्दै
आफैँलाई बिर्सिस् कि ?
संसार जोड्दाजोड्दै
आफ्नै अस्तित्व तोडिस् कि ?

जुन दिन सबै छुटेर जान्छ
त्यो दिन के बाँकी रहन्छ ?
एकपटक आफैँलाई सोध्, ए—मानव
तँ बाँचिरहेको छस्
कि केवल समय काटिरहेको छस् ?



तर हरेक ग्रन्थ भन्छन्—
कर्म गर,
फलको मोहमा नहराऊ।
इन्द्रियको दास नबन,
मनको बन्दी नबन,
अहंकारको कैदी पनि नबन।

तर मानिस,
तँ गर्छस् ठीक उल्टो—
फलका लागि कर्म गर्छस्,
इच्छाका लागि जीवन बाँच्छस्,
‘म’ र ‘मेरो’ का लागि
आफैँलाई बिर्सन्छस्।

अन्ततः,
जुन फलका लागि जीवन बिताइस्,
त्यही फल यहीँ छुट्छ।
जुन अहंकारका लागि
आफ्नो संसार बनाइस्,
त्यही संसारमा
तँ आफैँ हराउँछस्।


तँ मुक्त हुनेछस्,
जब बुझ्नेछस्—
कर्म चलिरहन्छ,
तँ साक्षी बनिरहन्छस्।

न अहंकारको बन्धन,
न फलको मोह—
जो साक्षी छ,
जो शान्त छ,
जो आनन्दस्वरूप छ,
जो अनन्त छ।


ए मानव, तँ को होस् ?

तँ त्यो होइनस्
जो जन्मियो,
जो एक दिन मर्नेछ।

तँ न कर्ता,
न भोक्ता,
न दास,
न स्वामी,
तँ त केवल साक्षी होस्।

तँ त्यो आत्मा होस्,
जो न जन्मिन्छ,
न मर्छ—
जो शान्त छ,
जो आनन्द छ,
जो अनन्त छ।

ए मानव,
तँ आफूलाई चिन—
तँ आत्मा होस्,
तँ नै ब्रह्म होस्।



शान्त,
आनन्दस्वरूप,
करुणामय,
साक्षी

तत्त्वमसि !
तँ त्यो होस्।

"तत्त्वमसि"
तँ त्यो होस्।

Post a Comment

0 Comments